गैंडाकोट, भाद्र २८
नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन आजदेखि नवलपुरको गैंडाकोटमा हुने भएको छ । सम्मेलनमा कुल एक हजार भन्दा बढी जेसीज युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
नारायणी नदी किनारस्थित नारायणी रिसोर्टमा सम्मेलन दुईदिन सम्म चल्नेछ । यस सम्मेलनले गैंडाकोटको पर्यटन प्रवद्र्धनमा समेत टेवा टेवा पुग्ने सम्मेलन निर्देशक गोकुल सापकोटाले बताउनुभयो । उहाँले नवलपुरको गैंडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ वटा शाखाका करिब ३५० युवाको सहभागिता रहने बताउनुभयो । सम्मेलनमा करिब ६० लाख खर्च हुने अनुमान गरिएको छ ।
उहाँले सहभागिहरुलाई मौलाकालिका मन्दिरको दर्शन गराउनुको साथै विभिन्न पर्यटकीय ठाउँहरुको भ्रमण गराइने बताउनुभयो ।
सम्मेलनको आज विहान १० बजेपछि समुद्घाटन गरिनेछ । त्यसअघि गैंडाकोटमा मार्चपास गरिने प्रचार प्रसार संयोजक एवं गैँडाकोट जेसीजका पूर्व अध्यक्ष शंकर अधिकारीले जानकारी दिनुभयो । सम्मेलनमा साधारणसभाका साथै सिनेटर बैठक, जुनियर जेसीज बैठक, वक्तत्वकला प्रतियोगिता, पर्यटकीय क्षेत्रको भ्रमण, ‘सकरात्मक कम्पन’ तालिम, पुरस्कार वितरण लगायतको कार्यक्रम हुने अधिकारीले बताउनुभयो ।
जेसीजले नेतृत्व र व्यक्तित्वलाई जोड दिदैँ आएको छ । विशेषतः जेसीजलाई १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको संस्थाको रुपमा लिने गरिएको बताईएको छ ।





