भरतपुर, भाद्र ३०
भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)मा एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट र एमएससी ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको प्रवेश परीक्षा असोज ३ गते हुने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युटेक कलेजमा स्नातकोत्तर तहमा कन्स्ट्रक्सन म्यानेजमेन्टको कोर्स २०७४ देखि सञ्चालन हुँदै आएको छ भने ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टको कोर्स यसवर्षदेखि सञ्चालन हुँदैछ ।
काठमाडौँ उपत्यकाबाहिर ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्ट कार्यक्रम
सञ्चालन गर्नेमा युटेक कलेज पहिलो हो । बिई सिभिल र आर्किटेक पढेका विद्यार्थीहरुलाई लक्षित गरी यी कार्यक्रम सञ्चालन गर्न लागिएको युटेक कलेजका प्रिन्सिपल प्राडा केशवदत्त अवस्थीले बताउनुभयो । चार सेमेष्टरमा पढाइ हुने यो कोर्सका लागि पाँच लाख ५० हजार रूपैयाँ शुल्क लाग्छ । ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टमा विद्यार्थी पढाउन कलेजले ३० सिटमा विद्यार्थी भर्ना आह्वान गरेको छ । त्यस्तै भवन, सडक र पुल निर्माणको क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्टको कोर्स लाभदायी हुने उहाँले बताउनुभयो ।
एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्टका लागि १५ वटा सिट रहेको उहाँले जानकारी दिर्नुभयो । त्यसमध्ये १३ सिटमा कलेजले विद्यार्थी भर्ना गर्न पाउँछ भने दुई सिटमा विश्वविद्यालयबाट छात्रवृत्ति पाएका विद्यार्थी पढ्न पाउँछन् । चार सेमेष्टरको यस कोर्सका लागि पाँच लाख ५० हजार रूपैयाँ शुल्क लाग्ने प्रिन्सिपल अवस्थीले बताउनुभयो ।
आधुनिक प्रविधिलाई मध्यनजर गरी यस कोर्सको पाठ्यक्रमलाई अद्यावधिक गरिएको छ । एमएससी ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्ट कार्यक्रम नयाँ कार्यक्रम हो । नेपालमा यातायात सेवालाई सहज बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि यस कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्छ ।
युटेक कलेजमा अहिले उत्साहजनक तरिकाले नयाँ कार्यक्रम बीइ आइटी र बीइ कम्प्युटरमा भर्ना भैरहेको साथै सिभिल र इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्समा छात्रवृत्ति समेत थप भएको जनाईएको छ ।





