चितवन, असोज ४
चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजमा असोज ११ र १२ गते ‘बोस्टन फिएस्टा’ र ‘अन्तर्राष्ट्रिय सप्ताह’ हुने भएको छ । कलेजमा पढ्ने विद्यार्थीहरुकै व्यवस्थापनमा हरेक वर्ष मनोरञ्जनात्मक कार्यक्रम बोस्टन फिएस्टा हुँदै आएको छ ।
विद्यार्थीहरुलाई कार्यक्रम व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने, विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तथा युवाहरुलाई आफ्नो कला प्रदर्शनको अवसर प्रदान गर्न बोस्टन फिएस्टा हुने गरेको छ ।
कलेजले अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थी र प्राध्यापकको अनुभव आदानप्रदानका लागि ‘अन्तर्राष्ट्रिय सप्ताह’ कार्यक्रमको सुरुवात गरेको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यार्थीहरूको सहभागिता गराएर दुवै देशका सांस्कृतिक तथा शिक्षाको आदानप्रदान गर्नुका साथै दुवै देशमा शैक्षिक गुणस्तर र प्रणाली के कस्तो रहेको छ भन्ने बारेमा जानकारी लिने उद्धेश्यले यो कार्यक्रम गर्न लागिएको हो ।
यस पटकको फिएस्टामा कलेजका विद्यार्थी र ‘रकहेडस् नेपाल’को बेजोड प्रस्तुती रहने कार्यक्रम प्रबन्धक श्रद्धा विष्टले जानकारी दिर्नुभयो ।
केही समय अगाडि बोस्टन कलेजमा सातौं र आठौं सेमेस्टरमा अध्यनरत विद्यार्थीहरू भारतको डा. डिवाई पाटिल युनिभरसिटी पुणे पुगेर यस्तो कार्यक्रममा सहभागी भई फर्किएका थिए । यस वर्ष हुन लागेको बोस्टन फिएस्टामा सहभागी हुन डा. डिवाई पाटिल युनिभरसिटीबाट २३ जनाको समूह (२० विद्यार्थी र तीन प्राध्यापक) र जान्सन्स बिजनेस स्कुल कोयमबटोरको नौ जनाको समूह (७ विद्यार्थी र २ प्राध्यापक) आउने विष्टले बताउनुभयो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बीबीए, बीबीए फाइनान्स, बीसिएसआइटि, बिएचएम र एमबीए गरी ५ वटा शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
बोस्टन फिएस्टा यसअघि २०७५, २०७६, २०७९ र २०८० सालमा आयोजना गरिएको थियो ।





