काठमाडौं, असोज ६
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समावेशिता, समानुपातिक प्रतिनिधत्व बढ्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी गर्नुभयो ।
उहाँले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन प्रणालीबाट सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने पनि बताउनु भयो ।
उहाँले कसैको दबाब र लहडमा नेपाली काँग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने बताउनु भयो । उहाँले समानुपातिक प्रणाली हटाइ राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा पार्टीका केही नेताहरुले गरेको भन्दै काँग्रेस त्यसको पक्षमा नरहेको बताउनु भयो ।
राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा काँग्रेसको नीति नरहेको भन्दै गलत प्रचर नगर्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । आन्दोलनबाट स्थापित गरेको समावेशिता, समानुपातिक प्रतिनिधत्व, महिला, दलितको प्रतिनिधित्व बढ्ने तर नघट्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज हामी १० वर्षको अनुभवका आधारमा संविधानको पुनरावलोकन गर्नुपर्छ भनेका छौँ। साथै निर्वाचन प्रणालीमा पनि बहसमा छौँ। प्रतिनिधिसभामा महिला, दलित, मधेसी सबै लिएर जान्छौँ भनेर हामीले बनाएको प्रणाली हो। हाम्रो आन्दोलनबाट स्थापित समावेशिता, समानुपातिक प्रतिनिधत्व, महिला, दलितको प्रतिनिधित्व बढ्छ, घट्दैन। यो नेपाली काँग्रेसको कुरा हो। यो पार्टीको जिम्मा हो।’
महामन्त्री थापाले सातबुँदे सहमति हुनुभन्दा पहिला नै निर्वाचन प्रणाली लगायतका केही विषयमा संविधान संशोधन गर्ने कुरा उल्लेख गरेको बताउनु भयो ।





