काठमाडौँ, असोज २५
आज दशैको अष्टमी र नवमी एकै दिन परेको छ । त्यसैले एकै दिन दुर्गा देवीको पूजा आराधना गरिदै छ ।
महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो चलनअनुसार आज दुर्गा देवीको पूजा गर्न सकिने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले जानकरी दिएका छन् ।
आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविदहरु बताउछन् ।





