काठमाडौँ, कार्तिक २०
आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको छ ।अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ । बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ ।
छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठपर्व सम्पन्न हुनेछ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो । आदिदेव सूर्य भगवान्लाई अघ्र्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले शृङ्गारिँदै छ । खासगरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गङ्गासागर, धनुष सागर, अङ्गराजसर, दशरथ तलाउ, रत्नसागर, गोर्धोइ पोखरीलगायत पोखरीलाई सजाइँएको छ ।





