२१ कार्तिक २०८१, बुधबार ०८:३१
काठमाडौँ, कार्तिक २१
श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् ।
चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।
आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । मंगलबार (हिजो) ब्रतालुले पर्वको पहिलो दिन नहाय–खाय (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।





