चितवन, चैत्र ३
ऋषिराज आचार्यद्वारा लिखित र निर्देशित नेपाली चलचित्र ‘द्रौपदी’ आगामी चैत्र ८ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको छ । चलचित्र ‘द्रौपदी’ को टिमले प्रचार प्रसारलाई तीव्रता दिएको छ । सोही क्रममा चलचित्र युनिट शनिबार चितवन आएको छ ।
चलचित्रको प्रचार प्रसार अन्तर्गत चितवनका पत्रकारसँग भेटघाटका लागि टोली चितवन आएको हो । पत्रकार सम्मेलनमा चलचित्रका कथाकार, निर्माता तथा निर्देशक ॠषिराज आचार्यले ‘द्रौपदी’ ले महिला शशक्तिकरणको कथा बोकेको बताए । उनले चलचित्रमा नेपालको मौलिकता झल्किने बताए ।
उनले यसलाई चलचित्र मात्र नभई एउटा दस्तावेजको रुपमा पनि लिन सकिने बताए । चलचित्रले बोल्ने कथाले सबैको मन जित्ने उनको विश्वास थियो । निर्माता तथा कलकार प्रकाश ज्ञवालीले चलचित्रको कथाले आफूलाई आकर्षित गरेको बताए । यही कारण फरक पेशाबाट चलचित्रमा हात हालेको उनको भनाइ थियो ।
गायक तथा कलाकार रवि ओडले यस चलचित्रले ठूलो पर्दामा आफ्नो भविष्य निर्धारण गर्ने बताए । उनले आफूले पाएको भूमिकालाई न्याय दिन सक्दो मेहेनत गरेको बताए । उनले दर्शकबाट माया र साथको अपेक्षा रहेको बताए ।
अभिनेत्री आश्विनी शाहीले ‘द्रौपदी’ को वजनदार पात्रको भूमिका निभाउन पाएको भन्दै खुशी व्यक्ति गरिन् । उनले कथा र बिषय बस्तु नै चलचित्रको हिरो भएको बताईन् । चलचित्रले वास्तविक नेपाललाई चिनाउने उनको भनाइ थियो । उनले यो हेर्नै पर्ने नेपाली चलचित्र रहेको पनि बताईन् ।
अर्की अभिनेत्री सुजता तिमल्सिनाले चलचित्र राम्रो बनेको बताईन् । चलचित्रमा अधिकांश नयाँ अनुहार भए पनि दर्शकले सबैको कामलाई मन पराउने विश्वास व्यक्त गरिन् ।





