काठमाडौं ,माघ ५
आज प्रतिनिधि सभाको सभामुखका लागि मतदान हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, नेपाली कांग्रेसको तर्फबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिनुभएकी छ ।
बुधबार दिउँसो भएको उम्मेवारी दर्तामा घिमिरेको प्रस्तावक एमाले सांसद सुवासचन्द्र नेम्वाङ, समर्थकमा नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन रहनु भएको छ । यस्तै कांग्रेसकी न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनु भएको छ ।
उम्मेदवारी दर्ता गराए लगत्तै उहाँले आफू निर्वाचित भए सन्तुलित रुपमा सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभयो । कांग्रेसकी न्यौपानेले पनि आफू सभामुखमा आफू विजयी बन्ने दाबी गर्नुभएको छ ।





