प्रदिप परियार – चितवन, जेठ १६
साबित्री परियार आफन्तले निम्ता गर्ने कार्यक्रमहरुमा सहभागी हुन छोडेको १३ वर्ष भयो । जहिलेदेखि रचिता जन्मिइन् त्यही दिनदेखि उनी छोरी छोडेर निस्किन छाडेकी हुन् । अर्थात्, उनकी छोरी रचिता पनि १३ वर्षकै भइन् । सन्तान छोडेर निस्किन पाएकी छैनन् भन्दा प्रश्न पनि उठ्न सक्छ, एउटी आमा सन्तानलाई छोडेर बाहिर किन हिँड्ने ? हो, आमाबुबाको कर्तव्य हो सन्तानको हेरचाह । तर, सामान्य शारीरिक अवस्थाका बालबालिकालाई जति रेखदेख र हेरचाह गर्न सजिलो छ, त्यसभन्दा कयौँ गुना असहज र पीडदायी संघर्ष हुन्छ ति अभिभावकको जो अपाङ्गता भएका बालबालिका हुर्काउँछन् ।
रचितामा बहुअपाङ्गता छ । उनी डेढवर्ष अघिसम्म बोल्न, हिँड्न सक्दैनथिन् । जब राष्ट्रिय बहिरा महासंघका प्रतिनिधिले उनलाई भेट्न भरतपुर २, क्षेत्रपुरमा रहेका घरै पुगेका थिए । त्यो समय रचिताका परिवारले महासंघका प्रतिनिधिलई विश्वास गरेका थिएनन् । अन्य संस्था जस्तै रेकर्ड माग्न आउने, झन् बिथोलेर तिमीहरु अपाङ्गता भएका छोरीका अभिभावक हौ भन्ने महसुस गराएर जान्छन् भन्ने चिन्ता थियो उनीहरुलाई । त्यसैले अनेक सवाल गरे ।
यद्यपि संस्थाका प्रतिनिधिले आफ्नो उद्देश्य र नानी व्यवहार परिवर्तन गर्न सकिने संभावनाबारे जानकारी गराए । तीन महिनासम्म सञ्चार, व्यवहार र सिकाइमा घरमै शिक्षक, थेरापिस्ट गएर उनलाई सिकाए । आमा साबित्री भन्छिन्, – छोरीमा हामीले नसोचेको परिवर्तन आयो ।
त्यसपछि नारायणगढको बालकुमारी माध्यामिक विद्यालयमा रहेको स्रोतकक्षामा उनलाई पढाउन लैजान थालिएको हो । अहिले रचिता लेख्छिन् । पढ्न कोशिस गर्छिन् । साबित्रीको एउटा मात्रै सन्तान हुन् उनी । भन्छिन्, – छोरीमा परिवर्तन ल्याउन उसँगै म पनि विद्यालयमा नै बस्छु, सिकाउँछु । अन्य बालबालिकालाई पनि सहयोग गर्छु ।
राष्ट्रिय बहिरा महासंघ नेपाल, भरतपुर महानगरपालिका र बालकुमारी माध्यामिक विद्यालयको त्रिपक्षीय सम्झौतामा अपाङ्तामा पनि बहु अपाङ्तामा तथा जटिल प्रकारको अपाङ्तामा भएका बालबालिकालाई विद्यालयको पहुँचमा लैजान स्रोत कक्षा सञ्चालन गरिएको छ । जसमा उनीहरुको अपाङ्गताको प्रकार पहिचान गरि भाषिक, गणितीय र सामाजिक सीपका साथै दैनिक जीवनका क्रियाकलाप सिकाउन तथा व्यवहार परिवर्तनमा सहयोग गरिन्छ । २०७९ माघ १२ गतेदेखि सञ्चालनमा आएको उक्त स्रोत कक्षामा रचिता र उनीजस्ता २० जना बालबालिका भर्ना भएका छन् । नियमित भने १२ जानाजति आउने स्रोत शिक्षक उषा नेपालले बताइन् ।

स्रोत कक्षाको सहारा, दिनको ४ सय रुपैयाँको यात्रा
गैँडाकोट–२ स्थित भृकुटी चोकमा बसोबास गर्दै आएकी सीता पोख्रेलका लागि जीवन केवल दैनिकीको संघर्ष मात्र होइन, मातृत्वको गहिरो पीडा र अथक समर्पणको कथा पनि हो । उनका १४ वर्षीय छोरा कमल पोख्रेल जन्मँदै बहुअपाङ्गता छन् । जन्मँदा केवल ८ सय ग्राम तौल भएका कमललाई शारीरिक रूपमा कमजोर र अधुरो शारीरिक विकाससहित संसारमा ल्याउँदा, सीताको जीवनमा अनगिन्ती चुनौतीहरूको श्रृखलाहरु सुरु भयो ।
कमललाई लामो समयसम्म एनआईसीयूमा राखेर उपचार गरिनु प¥यो । मध्यम वर्गीय परिवार भएकाले छोराको उपचारमा लाखौं रुपैयाँ खर्च भयो । कसलाई चाहिन्न र आफ्ना सन्तानको उज्यालो भविष्य ? सीता भन्छिन्,– तर, भाग्यले साथ दिएन भने मानिसले जे गरे पनि के नै गर्न सक्छ र ? कमलकी आमा सीता छोराको अवस्थाले पटक पटक भावुक हुन्छिन् । ‘पहिले त साँच्चै स्यारसुसार गर्न गाह्रो हुन्थ्यो, न उठ्न सक्थे न बुझ्थे ।’ तर, कमल आफैले घरसँगै जोडिएको विद्यालयमा विद्यार्थीहरु गएको हेर्दै स्कुल जान रुची देखाउन थाले । आमालाई स्कुल जाने पोशाक लगाइदिनु भन्न थाले । अहिले आँखा जुधाएर बोल्न खोज्छन् । सीता आशावादी छिन् — “पक्कै ठिक होला, एकदिन त मेरो छोरा पनि राम्रो हुनेछ ।”
छोराको समस्या समाधान होला भनेर सीताको परिवारले निकै खर्च पनि गरे । उनलाई उपचारको लागि संभव हुने सबै ठाउँ लगिसके । तर, शारीरिक विकास नै ढिलो भएपछि कसरी चमत्कारिक परिवर्तन हुन्थ्यो र । यद्यपि पछिल्लो समय कमलको अवस्था सुधार हुँदैछ ।
कमल पनि बालकुमारी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको स्रोत कक्षामा अध्ययनरत छन् । गैँडाकोटबाट भरतपुरसम्म दैनिक ४ सय रुपैयाँ खर्च गरेर कमलकी आमा सीता छोरा लिएर आउँछिन् ।
सबेरै उठ्ने बानी कमलको जीवनशैली बनिसकेको छ । घाम उकालो लाग्नुअघि नै उनी स्कुल जानका लागि तयार बनाइदिन भन्न थाल्छन् । कमलका लागि शारीरिक रूपमा विद्यालय जान सजिलो छैन । उनी अझै पनि आफ्नै दिसा पिसाब नियन्त्रण गर्न सक्दैनन् । यस्तो अवस्थामा परिवार, विशेष गरी आमाको भूमिकाले जीवन नै बाँच्ने आधार बनेको छ ।
कमलको हरेक दिनको सुरुवात केवल पढ्न जानु मात्रै होइन, चुनौतीसँग जुध्ने तयारी हो । दिसा पिसाब गर्न विशेष सहयोग आवश्यक पर्ने भएकाले उनलाई डाइपरको भरमा राख्नुपर्छ । जसका लागि महिनैपिच्छे सातदेखि आठ हजार रुपैयाँ खर्च लाग्ने गर्छ । आर्थिक रूपमा औसत परिवारका लागि यो रकम कम होइन, तर छोराको उज्यालो भविष्यका लागि सीता पोख्रेल हरेक सम्भव त्याग गर्न तयार छिन् ।
सबै कठिनाइका बाबजुद पनि कमलको पढ्ने इच्छाशक्ति सीताका लागि आशाको किरण बनेको छ । अब कमलले आफ्नै हातले खाना खान सक्छन् । मन लागेको खानेकुरा माग्न पनि सक्ने भएका छन् । उसको हिम्मत देखेर म झन् बलियो हुन्छु,–सीताले भनिन ।

शिक्षाको पहुँच र समावेशी प्रयासः सिकाइमा प्रभावकारी स्रोतकक्षा
बालकुमारी माध्यमिक विद्यालयको स्रोत कक्षामा हाल १२ जना बहुअपाङ्गता भएका विद्यार्थी नियमित विद्यालय आउँछन् । शिक्षक उषा नेपालका अनुसार सुरुमा उनीहरुलाई रङ, लाइट, ध्वनी स्पर्श लगायतको माध्यमबाट अपाङ्गताको प्रकार छुट्याइन्छ । उनीहरुको अपाङ्गताको पहिचान भएपछि खेल्दै सञ्चार गर्न सिकाइन्छ । उनीहरु सबैले बराबरी लेख्न पढ्न सक्छन् भन्ने हुँदैन ।
मुख्य गरि सञ्चार सीप विकास गरि मूलधारको शिक्षाको लागि तयार गर्ने हाम्रो उद्देश्य हो, शिक्षक नेपालले भनिन् । स्रोत कक्षामा सहभागी बालबालिकाले पढ्न, लेख्न मात्र होइन, आफ्ना भावना पनि व्यक्त गर्न थालेका छन् । केही बोल्न नसक्ने बालबालिकाले समेत यहाँको सिकाइ प्रक्रियाबाट स्पष्ट रूपमा जान्नेबुझ्ने हुन थालेका छन् ।
स्रोत कक्षामा नियमित अध्ययन गर्न थालेपछि धेरै अभिभावकले आफ्ना बहुअपाङ्गता भएका बालबालिकाको जीवनशैलीमा देखिएको परिवर्तनको अनुभव गरेका छन् । उनीहरू अब पढ्न, लेख्न र खेल्नमा पहिलाभन्दा बढी सक्रिय भएका छन् । केही त प्रष्ट बोल्न नसक्ने अवस्थामा थिए, तर सिकाइ प्रक्रियामा निरन्तर संलग्न हुँदा अब सामान्य कुरा बुझाउन सक्ने भएका छन् ।
तिमध्ये व्यवहार परिवर्तन हुँदै शिक्षको मूल धारमा सहभागी प्रशंसनीय उदाहरण पनि स्रोत कक्षाले दिएको छ । जसका एक उदाहरण हुन्, अमृत तामाङ । अमृत १७ वर्षमा विद्यालय आएका थिए । उनी अति धेरै लजालु स्वभावका पनि थिए ।
सुरुमा स्रोत कक्षामा शिक्षकसँग बानी पर्नै उनलाई समय लाग्यो । शिक्षक उषा नेपालका अनुसार केटीमान्छेसँग लजाउने स्वभावका भएकोले उनलाई सिकाइमा लगाइहाल्न सकिएन । तर, विस्तारै शिक्षक नेपाल नजिक हुँदै गइन् । उनले आफूलाई अमृतको आमाझैँ ठान्न सिकाइन् । अमृत पनि सिक्दै गए । उनको सिकाइ यति छिटो भयो कि स्रोत कक्षामा पढ्न थालेको ३ महिनामा नै हेण्डराइटिङको प्रतिष्पर्धामा प्राथमिक विद्यालय तर्फ सामान्य अवस्थाका विद्यार्थीहरुलाई पनि जितिदिएर प्रथम भए ।
सिकाइमा राम्रो हुँदै गएपछि सोही विद्यालयको कक्षा १ हुँदै अहिले अमृत कक्षा २ मा अध्ययन गर्दैछन् । उनी पढाइमा लगनशील पनि छन् । साथीहरु पनि अमृतलाई सघाइदिन्छ । उनलाई कक्षामा बस्न सहज हुने कुर्ची टेवलको व्यवस्था छ । अमृतजस्तै स्रोतकक्षाबाट ५ जना बालबालिका मूलधारको कक्षामा उक्लिइसकेका छन् । तिमध्ये २ कक्षामा दुई जना, कक्षा १ मा पनि दुई जना र केजीमा १ जना भर्ना भएका शिक्षक नेपालले जानकारी दिइन् ।
विद्यालय जानबाट बञ्चित भएका बालबालिकाको हकमा राष्ट्रिय बहिरा महासंघले उदाहरणीय भूमिका निर्वाह गरिरहेको छ । यस संस्थाले उनीहरूले अभिभावक र समुदायमा चेतना फैलाउने, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पढ्न सघाउने, र सबै विद्यालयमा समान भर्ना अभियान सञ्चालन गर्ने जस्ता कार्यमार्फत सामाजिक उत्तरदायित्व वहन गरिरहेका छन् ।
कमल, सचिता, अमृत जस्ता बालबालिकाले समावेशी शिक्षाको परियोजना अन्तर्गत सञ्चालित स्रोत कक्षामा पढ्न मात्रै सिकेका होइनन् । उनीहरुले थेरापी, स्वास्थ्य जाँचको पनि सेवा एकै ठाउँबाट लिइरहेका छन् । हप्ता दुई पटक थेरापिस्ट नै पुगेर शारीरिक कठिनाइ भएकालाई शारीरिक रुपमा हिँडडुल गर्न सिकाउने, बोलाइमा कठिनाइ भएका बालबालिकालाई स्पिच थेरापी गर्ने गर्दै आएका छन् ।
अझ अभिभावकलाई पनि सन्तानको आवश्यकता अनुसार सिकाइ व्यवहार सिकाउन तालिम दिइएको छ । सचिताकी अभिभावक साबित्रीले बालबालिका सबै आउँदा स्रोत शिक्षक र एक जना सहयोगीले मात्रै हेर्न नसक्ने भएकोले अभिभावकले पनि सघाउने, तालिम अनुसार सिकाइमा मदत गर्ने बताइन् ।

राज्यको जिम्मेवारी, तर बजेट छैनः
भरतपुर महानगरपालिकाको विवरण अनुसार समावेशी शिक्षा परियोजना अनुसार महानगरभरका अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म जोड्ने व्यवस्था गरिएको छ । त्यसकारण यहाँ अहिले कुनै बालबालिका पनि विद्यालय बाहिर नभएको नगर शिक्षा अधिकारी सुवास आचार्यले बताए ।
तर अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै पहुँचयुक्त योजना भने अझै नबनेको उनको भनाई छ । यो विषयमा महानगर सकारात्मक छ, छिट्टै पहुँचयुक्त योजना बनाएर अगाडी बढ्ने उनले स्पष्ट पारे । स्थानीय तहको तर्फबाट समावेशी शिक्षा कार्यक्रम सञ्चालन गर्न सहजभने छैन — “स्रोत र जनशक्तिको अभाव छ, नगर शिक्षा अधिकारी आचार्यले भने ।
राष्ट्रिय बहिरा महासंघ र अटिजम केयर चितवन सोसाइटीले भरतपुर महानगर र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना संचालन गरिरेहका छन् । दुईवटा संस्थाको संयुक्त जोडबलले केही सकारात्कक नतिजा देखिन थालेको छ । यस योजनामार्फत ४ वर्षदेखि १७ वर्षसम्मका १ सय ४५ जना बालबालिका लाभान्वित भएका छन् ।
सचिताकी आमा साबित्री हिजोआज भने छोरीलाई लिएर घरबाहिर कार्यक्रमहरुमा निस्किन थालेकी छन् । उनलाई पहिला असहज लाग्थ्यो । आफ्नो छोरीको अपाङ्गतामा आफूलाई पनि कमजोर ठान्थिन् उनी । अहिले उनमा पनि परिवर्तन आएको छ । भन्छिन्, १३ वर्षपछि छोरीलाई पनि आफूसँगै लिएर बाहिर हिँड्नुपर्ने रहेछ भन्ने बुझ्न थालेको छु ।





