काठमाडौँ, असार ११
नेकपा (एमाले)ले केपी ओली नेतृत्वको सरकारको एकवर्षे कार्यकाल सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय र कार्यान्वयन सन्तोषजनक रहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिए।
सत्तारुढ दलहरू काँग्रेस–एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको उनले जानकारी दिए। उनले दलीय र नीतिगत निर्णयमा स्पष्टता र स्थायित्व देखिएको पार्टीको धारणा रहेको समेत बताए। सडकमा देखिएको विरोधका स्वर कम हुँदै जानु पनि सरकारको सफलता रहेको ज्ञवालीको भनाइ छ।
ज्ञवालीले भने, ‘पार्टीले सरकारको एक वर्ष सफल भएको निष्कर्ष निकालेको छ। दुई दलबीच भएको सम्बन्ध दलीय र नीतिगत निर्णयमा पनि बलियो हुँदै गएको छ। अर्थतन्त्रमा समेत विस्तारै सुधार हुँदै गएको छ। अर्को सरकारले बनाएको बजेट कार्यान्वयन गर्दा पनि मुलुकमा जटिलता सल्टाउन सफल भएका छौँ।’





