चितवन, माघ १८
उद्योग वाणिज्य संघ–चितवनले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई चितवनमा स्वागत गरेको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले एक कार्यक्रम गरी हिजो (मंगलवार) स्वागत गरेको हो ।
स्वागत एवम् छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उहाँहरुलाई स्वागत गर्दै यस्ता किसिमका भेटघाटले दुई उद्योग वाणिज्य संघको मित्रता बढ्नुका साथै सरकार संघ पहल गर्नुपर्ने दुवै संघका समस्याहरुको पनि पहिचान हुने बताउनुभयो ।
उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिँदैं अध्यक्ष श्रेष्ठले सरकारले लागू गरेको सङ्कुचनकारी मौद्रिक नीतिका कारण व्यवसायीहरुलाई समस्या परेको बताउँदै उहाँले निजी क्षेत्रका संलग्नता बिना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने हुनाले सरकारले निजी क्षेत्रलाई हातेमालो गर्दै जानु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षिप्त जानकारी दिँदै व्यवसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनसँग सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गदै उहाँले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागू गर्ने बताउनुभयो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा संघका पूर्वअध्यक्ष, कार्यसमिति सदस्य, लगायत २२ जनाको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्षत्रय, चिरञ्जीवी सुुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, तथा संघका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थियो ।
नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरुका साथै औद्योगिक क्षेत्रहरुको अध्ययन अवलोकन गर्ने सन्दर्भमा उद्योग वाणिज्य संघ–चितवन आएको जनाईएको छ ।





