काठमाडौं ,माघ २१
आज नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक बोलाएको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा कांग्रेसले आफू नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बोलाएको हो ।
बैठक कांग्रेस संदीय दलको कार्यालयमा शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।
नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने तयारी गरेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।
लामो समयदेखि रिक्त रहेको राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन सोमबार गर्ने संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।
सचिवालयले आइतबार उम्मेदवारी दर्ता गर्ने र सोमबार मध्यान्ह १२ बजे निर्वाचन हुने तालिका सार्वजनिक गरिसकेको छ ।
प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि उम्मेदवारी दर्ता गराउन लागेको छ ।





