चितवन,माघ २१
चितवनको पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर फुड फेस्टिबल २०७९ हुने भएको छ ।
हिजो (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेर क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागेको जानकारी दिएको हो । महोत्सव माघ २९ गतेदेखि फागुन २ गतेसम्म सौराहाको सडकमा नै सञ्चालन गरिनेछ ।
महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाइने कार्यक्रम संयोजक ध्रुब गिरीले जानकारी दिनुभयो ।
सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक गिरीले बताउनुभयो । महोत्सवअन्तर्गत कार्यक्रम स्थल हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । यस्तै हरेक दिन बेलुका जनजातीहरुको कला तथा संस्कृति सहितको प्रदर्शन समेत गरिने छ ।
माघ २९ देखि फागुन १ गते साँझ ५ बजे देखि राति १० बजे सम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजे देखि राति ११ बजे सम्म कार्यक्रम हुने जनाईएको छ ।





