काठमाडौं , माघ २१
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ।
शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताउनुभयो ।
कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको उहाँको भनाई छ । यदि सहमति नभए विचार र कार्यदिशा मिल्ने दलसँग मिलेर अघि बढ्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो । अहिलेसम्म एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै उहाँले सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताउनुभयो ।





