काठमाडौं ,फागुन ४
तत्काल एकल बिन्दुमा व्याजदर कायम गर्न नसकिने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताउनुभएको छ ।
हिजो (बुधबार) नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आर्थिक सूचकहरुमा देखिएको सुधारले बिस्तारै व्याजदर घट्ने अवस्था देखिएपनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताउनुभएको हो ।
उहाँले पछिल्लो समय अर्थतन्त्रमा केही राम्रो हुने संकेत देखिए पनि बैंकहरु दबाबमा नै रहेको उल्लेख गर्नुभयो । अध्यक्ष केसीले उद्योगी व्यवसायीहरुबाट बैंकको व्याजदर बढी भएको भन्दै बैंकको व्याजदर घटाएर एकल बिन्दुमा ल्याउन मागहरु आएपनि तत्काल ब्याजदर घटाउन सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले बैंकहरुले लिएको नीतिले विस्तारै ब्याजदर घट्दै जाने अवस्था देखिएको पनि उल्लेख गर्नुभयो । उहाँले बैंकहरु कर्जाको ब्याजदरलाई स्थिर राख्नुपर्छ भन्ने विषयमा सजक रहेको बताउनुभयो ।





