काठमाडौं ,फागुन ७
आज सातौँ निर्वाचन दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विक्रम संवत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज निर्वाचन दिवस मनाउने गरिन्छ। आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसका नारालाई सार्थक बनाउन सबैको निरन्तर सहयोग, साझेदारी, सहकार्य र समन्वय अझ मजबुत हुनेछ भन्ने विश्वास लिएको छ।
यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताका लागि पनि विशेष वर्षको रूपमा रहेकाले सातौँ निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको छ।
‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरी स्थानीय तह निर्वाचन वैशाख ३० गते र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मङ्सिर ४ गते मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
यही फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुने निर्वाचन आयोगले जनाएको छ।





