धनगढी ,फागुन ८
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताउनुभएको छ ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उनले केही दिनमै विश्वासको मत लिने बताउनुभयो ।
‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ’, उहाँले भन्नुभयो , सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन।’
यस्तै उहाँले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गर्नुभयो । ‘निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्। फेरि चुनावमा गए जनताले लखेट्छन्’, उहाँले भन्नुभयो ।
पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएको थियो । उहाँलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वास मत नदिएपछि रावल पदमुक्त हुनुभएको हो।





