१० फाल्गुन २०७९, बुधबार १७:१६
काठमाडौं ,फागुन १०
बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले माग गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गर्नुभयो । थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले लघुवित्तका कारण कयौं गरिब जनतामाथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गर्नुभयो । उहाँले लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको बताउनुभयो ।





