काठमाडौं , फागुन २१
पुल निर्माणका लागि भित्ता काट्न भन्दै दिउँसोमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारबाट दिउँसोको समयमा पनि चालु रहने भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेकाले सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
सो सडकमा पाँच वटा पुल निर्माणाधीन अवस्थामा छन् । पुरानो पुलसँगै अर्को पुल बनाउनका लागि भित्ता काटिएको हो । अब तुइन खोलाको भित्तो काट्न बाँकी रहेको र त्यसका लागि बिस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको पनि आयोजनाले जनाएको छ ।
भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म बन्द गरिंदै आएको सडक अब निर्वाध रूपमा चल्ने छ ।





