काठमाडौं ,फागुन २५
आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।
संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीचको प्रतिस्पर्धालाई महत्वकासाथ हेरिएको छ ।
पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको हो ।
मतदान बिहान १० बजेदेखि सुरु भइ ३ बजेसम्म हुने छ भने ३ बजेपछि लामबद्ध हुन आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने छ। अपराह्न ४ बजेदेखि मतगणनाको कार्य सुरु गरेर साँझ ७ बजेसम्म गणना सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचनको परिणाम सार्वजनिक लगत्तै नयाँ राष्ट्रपतिलाई प्रमाणपत्र वितरण गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते राति १२ बजेसम्म रहेकाले त्यसको भोलिपल्ट अर्थात् २९ गते नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुनेछ।





