काठमाडौं ,फागुन ३०
नेकपा एमालेले विपक्षी दलको मान्यता माग गर्दै संघीय संसद सचिवालयलाई पत्र लेखेको छ।
महासचिव शंकर पोखरेलले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सम्बोधन गर्दै विपक्षी दलको मान्यता दिन माग गर्नुभएको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीले विपक्षी दलको मान्यता दिन आग्रह गर्दै पत्र आएको पुष्टि गर्नुभएको हो ।
‘महासचिवज्यूलाई सम्बोधन गरेर पत्र आएको छ। उहाँ (महासचिव) बाहिर भएकाले पत्र हेर्न पाएका छैनौं,’ उहाँले बताउनु भयो ।
गत फागुन १५ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले प्रतिनिधिसभामा आफूलाई विपक्षी दलको मान्यता दिनुपर्ने माग गरेको हो।
यसअघि नेपाली कांग्रेसले विपक्षी दलको मान्यता दिन माग गर्दै आइरहेको थियो। तर, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले सचिवालयले औपचारिक रुपमा कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको थिएन।





