काठमाडौं ,चैत्र २
नेपालले आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा आज यूएईसँग खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान साढे ९ बजेदेखि सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
आज यूएईलाई हराएमा नेपालले सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएको खण्डमा नेपालले यही महिनाको अन्तिममा नामिबियामा क्वालिफायर प्लेअफ खेल्नेछ । नेपालको नजर नामिबिया नभएर जिम्बाब्वे भ्रमणमा छ ।
उच्च लयमा रहेको नेपालले बिहीबार यूएईविरुद्ध जित निकाल्न चाहन्छ । यही सिरिजमा नेपालले यूएईलाई १७७ रनले हराएको थियो । यूएईविरुद्धको पछिल्लो पाँच ओडिआईमा नेपालले एक खेलमा मात्र हार बेहोरेको छ ।
लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले बिहीबार पनि सोही लय दोहोर्याउन चाहन्छ । यद्यपि नेपालले यूएई पनि लयमा फर्किएको छ । बुधबार मात्र उसले पिएनजीलाई ६ विकेटले हराएको थियो ।
अन्तिम खेलका सबै टिकट चैत १ गते नै बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
आज को खेलमा दर्शकको संख्या अत्यधिक हुने भएकाले बालबालिका र वृद्धवृद्धालाई सुरक्षित तरिकाले घरमै प्रत्यक्ष प्रसारण हेर्न क्यानले आग्रह गरेको छ। यससँगै त्रिवि मैदानमा आउने दर्शकलाई पनि संयमित तरिकाले खेल हेर्न क्यानले अपील गरेको छ। नेपाल, यूएई र पपुवा न्युगिनीबीच जारी त्रिदेशीय श्रृंखला अन्तर्गतका खेलमा क्यानले टिकटको मूल्य १५० रुपैयाँ तोकेको थियो।
आज हुने नेपाल र यूएईबीचको खेलका लागि एघार हजार टिकट बिक्री भएको छ। नेपाल क्रिकेट संघ क्यानले, टिकट बिक्री बन्द भएको जनाएको छ। टिकटको अत्यधिक माग भए पनि थेग्न नसक्ने अवस्था आएपछि बिक्री रोकिएको जनाइएको छ। दश हजार अनलाइन र एक हजार फिजिकल टिकट बिक्री भएको हो। क्यानले अतिथिका लागि पाँच सय पास वितरण गरेको छ।





