चितवन, चैत्र ३
चितवनमा जारी प्रथम नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निश्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवर्द्धन मेला २०७९” को समिक्षा कार्यक्रम यस्तो निश्कर्ष निकालिएको हो ।
स्वदेशी उत्पादन र स्वदेशी उघोगको प्रवर्द्धनमा आयोजित मेलाका कारण सस्तो आरामदायी र टिकाउ भएका स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा परेको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न चितवन प्रशासन सधै अग्रसर हुने चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । यस्तै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले चितवने बजारमा कर छल्ली गरेको र अण्डर लिगि गरेको समान बिक्रि गर्न नपाउदा व्यवसायीहरु अत्तालिएको बताउनुभयो ।
मेलामा औषतमा दैनिक ५ हजार जनाका दरले हालसम्म करिब ७५ हजार जनाले प्रदर्शनीको अवलोकन गरेको र अवलोकनकर्ता मध्ये औषतमा ७० प्रतिशत अवलोकनकर्ताहरुबाट ३० हजार जोर जुत्ता, चप्पलको कारोबार भएको फुटवेयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
‘पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्यो’, नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले भन्नुभयो, ‘हामी ग्राहकमैत्री बनेको प्रमाणित भयो ।’ गत फागुन १७ गतेदेखि प्रदर्शनी केन्द्रमा जारी प्रथम नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवर्द्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीडले आफुहरु थप उत्साहित बनेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले जानकारी दिनुभयो ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आम उपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने अभियानमा चितवन सफल देखिएको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले बताउनुभयो । मेलामा बि एफ डियरहिलरबिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् । चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्नेको संख्या दिनप्रतिदिन ओराई लागेको छ ।
नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मनपर्ने ग्राहकले बताउनुभयो । नेपालमा सबै वर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ताचप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाइ छ।
आफ्नो उत्पादनलाई ब्राण्डिङ गर्ने र स्टक क्लियरिङ गर्ने उद्देश्यले मेलामा सहभागी भएको विएफ डियर हिलका डाइरेक्टर सुजन उपाध्यायले ग्राहकहरूले समर, स्कुल, स्पोर्टस् जुत्ता रुचाएको बताउनुभयो । उहाँले प्रवर्द्धन मेलामा आएका व्यवसायी तथा अवलोकनकर्ताहरु मध्ये १०० जनाले प्रदर्शनीमा रहेका नेपाली जुत्ता÷चप्पलका चितवन, मकवानपुर, नवलपुर, धादिङ र गोरखा, तनहुँ जिल्लामा समेत डिलरसिप लिनका लागि आशय व्यक्त गरेको जानकारी दिनुभयो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेको कार्यक्रममा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीको १५ दिने कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो ।
समिक्षा कार्यक्रममा प्रवर्धन मेलामा ११ वटा नेपाली उत्पादनको एक हजार भन्दाबढी ब्राण्डका जुत्ता,चप्पलहरु बिक्री भईरहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो । उहाँले कुल बिक्री मध्ये फागुन महिनामा लगभग ६५ प्रतिशत पार्टी सुजको कारोबार भएको र चैत्र लागेपछि स्पोर्टस् जुत्ताको कारोबार बढ्न थालेको समेत बताउनुभयो ।
त्यस्तै नेपाल फुटवेयर एशोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले प्रवर्धन मेलाले प्रति स्टल औषतमा ७ जना र सरसफाई तथा सुरक्षा सहित ८५ जनालाई १ महिनाको लागि प्रत्यक्ष रोजगार प्रदान गरेको, प्रयोग पश्चात् मात्र जुत्ता÷चप्पलहरुको गुणस्तर पहिचान हुने भएकोले नेपाली उत्पादनको गुणस्तरका बारेमा पृष्ठपोषण लिनका लागि १०० जना उपभोक्ताहरुको नमूना सर्वेक्षण गरी उत्पादनको परिस्कृत गरिने समेत जानकारी दिनुभयो ।





