काठमाडौं, चैत्र ६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव २३ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।
कूल ५२ लाख ५५ हजार ८६ कित्ता शेयर रू एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ मूल्यमा खरिद बिक्री भएका छन्। नेप्सेका अनुसार कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रू सात करोड ६३ लाख ९२ हजार चार सय ४२ बराबरको कारोबार भयो।
साथै एनआइसी एशियाको रू छ करोड १९ लाख ९५ हजार नौ सय २२, सिटिजन बैंकको संस्थापक शेयर रु पाँच करोड ८५ लाख २७ हजार एक सय, शिवम् सिमेन्ट रु चार करोड १३ लाख ७७ हजार पाँच सय दुई र हिमालयन डिस्टिलरी रु तीन करोड ४२ लाख ६२ हजार आठ सय २० बराबरको शेयर कारोबार भएको छ।





