बैतडी, चैत्र १७
भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।
यहाँका भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो । भारतमा सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको जोशीको भनाइ छ । चैत महिनायता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ५८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण जारी रहेको कोभिड–१९ सम्र्पक व्यक्ति जोशीले बताउनुभयो ।
सुदूरपश्चिमका यी सबै नाकामा नियमित कोरोना परीक्षण कार्य जारी रहेको छ । उहाँले भन्नुभयो, “भारतबाट फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेपछि नाकामा थप कडाइ गरेका हौँ ।”





