काठमाडाैं, चैत्र १८
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको परिवर्तन, संविधान निर्माणलगायत सबै आन्दोलनमा पत्रकारिताको छुट्टै भूमिका रहेको बताउनुभएको छ ।
उहाँले पत्रकारिताको अबको भूमिका फरक रहने भन्दै भूमिका परिवर्तन गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा भएको राष्ट्रिय मिडिया सम्मेलन–२०७९ को उद्घाटन गर्दै मन्त्री शर्माले अबका दिनमा भएका परिवर्तनले जनतालाई के दियो भन्ने विषयमा मिडिया चनाखो हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्मको प्रयासमा पनि कानून बन्न नदिने र बनेका कानून पनि कार्यान्वयन हुन नदिने अवस्थाका बारेमा मिडियाले आवाज उठाउन आवश्यक छ ।”
मन्त्री शर्माले पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयनलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले मिडिया सम्मेलनले न्यूनतम पारिश्रमिकको कार्यान्वयनका विषयमा गम्भीर छलफल गर्न सुझाव दिनुभयो ।





