काठमाडौं, चैत्र २३
वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगका अनुसार आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ।
आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेसमेत आयोगले जनाएको छ। यस्तै निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग सही ढंगले प्रयोग गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचारसंहिताको पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आग्रह गरेको छ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएकाले चितवन–२ मा उपनिर्वाचन गर्न लागिएको हो।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर आचारसंहिता लागू हुने जनाएको छ। आगामी आगामी वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।





