चितवन, चैत्र २४
भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई सम्मान गरेको छ । हिजो बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका सभाहलमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल र सीता परियार, सायुयल परियार र अर्पना तिवारी, मिरन सुनार र इन्द्रा भुजेलको जोडी रहेको छ । यस्तै भरतपुर १५ का राज दर्जी र सिम्रन चौरेल, भरतपुर २३ का ढक बहादुर नेपाली र सुशिला महतो, भरतपुर २५ का कमल बहादुर सुनार र कल्पना बस्नेतको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताउनुभयो । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले भौतिक पुर्बाधार मात्र बिकास नभई समाज रुपान्तरण पनि बिकासको महत्वपुर्ण पक्ष रहेको प्रकाश पार्नुभयो । क्रान्ती भनेको एउटा सामाजिक अवस्थाबाट अर्को अवस्थामा पुग्नु भएको बताउँदै उहाँले सम्मानित जोडीहरुको दिगो र सुमधुर सम्बन्ध कायम रहिरहोस भनी शुभकामना ब्यक्त गर्नुभयो ।
महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलले अन्तरजातीय विवाह गर्ने जोडीको जीवनलाई सहज बनाउन २ वर्षअघि देखि नीतिगत व्यवस्था गरिएको उल्लेख गर्नुभयो । अन्तरजातीय दाम्पितीले समाजमा खेलेको परिवर्तनको भूमिकालाई कदर गर्दै यो कार्यक्रम गरिएको बताउनुभयो । महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने दुई वर्षमा ३ र ३ जोडीलाई सम्मान गरेको थियो ।





