काठमाडौं, बैशाख ५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बिहान ९ बजे संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो ।
उहाँले सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूबीच हिजो भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो ।
शुक्रबारको सो बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सक्ने बताइएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।





