९ बैशाख २०८०, शनिबार ०९:३२
काठमाडौं, बैशाख ९
निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आइतबार चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका छन् । आवश्यक चुनावी सामग्री पनि पुगिसकेको आयोगले जनाएको छ ।
उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।





