काठमाडौँ, बैशाख १६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिनुभएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाइ थियो ।
होटल एसोसिएसन अफ नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गर्नुभयो ।
मन्त्री किरातीले पहिले शोषकहरू दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताउनुभयो । उहाँले सहरमा पनि बैंक तथा वित्तीय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराउनुभयो ।
मन्त्री किरातीले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताउनुभयो ।





