चितवन, बैशाख १८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ ।
हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।” प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्वपूर्ण खेल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खेल सुरक्षित र साहसी खेल हो ।”
आफु पनि मौका मिलाएर यहाँ आएर खेल्ने उहाँले बताउनुभयो । साहसी खेलमध्ये सुरक्षित मानिएको प्याराग्लाइडिङ भएको उहाँको भनाइ थियो । युवा उद्यमीको पहलमा भएको यस कार्यले खुसी लागेको उहाँले बताउनुभयो । नेपालले अन्तराष्ट्रियस्तरमा पर्यटनको क्षेत्रले नयाँ उत्पादन दिन सक्ने गरि यो खेल आएको उहाँले बताउनुभयो ।





