लुम्बिनी, बैशाख १९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आज बसेको प्रदेशसभाको पहिलो अधिवेशन अन्तर्गत दशौँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
आज बसेको प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गर्नुभएको थियो ।
नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले प्रदेशसभामा विश्वास मतको प्रस्ताव राख्दा उहाँको पक्षमा ५३ मत परेको छ । यस्तै, विश्वासको मतको विपक्षमा २९ र चार जना तटस्थ रहेका छन् ।
प्रदेशसभामा रहेका १० दलमध्ये विश्वासको मतको पक्षमा आठ दलका ५२ जना र एक स्वतन्त्र सांसद गरी ५३ जनाले मतदान गरेका छन् ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका नौ, नागरिक उन्मुक्ति पार्टीको चार, जसपा, लोसपा र जनमतका तीन÷तीन, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा एक÷एक र एक स्वतन्त्र सांसदसहित ५३ जनाले मतदान गरेका थिए ।
यस्तै विपक्षमा नेकपा एमालेका २९ र राप्रपाका चार गरी ३३ जना रहेका छन् ।





