काठमाडौं, बैशाख २१
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा संसद् अधिवेशनमा बजेट, बजेट पूर्वको छलफल र पूर्व तयारीका विषय छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गतेका लागि बजेट अधिवेशन आह्वान गर्नु भएलगत्तै बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा सत्ता गठबन्धनले बजेटका सिद्धान्त र प्राथमिकतालाई एकरुपता कसरी दिने भन्ने विषयमा छलफल भएको बैठकपछि नेता लेखकले बताउनुभयो ।
उहाँले सरकारमा रहेका राजनीतिक दलका धारणा मिल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकताको तयारी गरेर अगाडि बढ्ने सहमति भएको बताउनुभयो ।
सत्ता गठबन्धनको अर्को बैठक शुक्रबार फेरि बस्ने नेता लेखकले बताउनुभयो ।





