काठमाडौं, जेठ १५
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताउनुभएको छ ।
सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको पनि बताउनुभयो । उहाँले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा राख्नुभयो ।
प्रधानमन्त्री दहालले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने बताउन भयो । उहाँले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने बताउनुभयो ।





