काठमाडौँ, जेठ १७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चारदिने औपचारिक भारत भ्रमण आजदेखि हुँदै छ। प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जाने तय भएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे मङ्गलबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्मा प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल अघि बढाउने विषयमा कुरा भएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यू भारत भ्रमणबाट आएपछि बजेटमाथि छलफल गर्ने भन्ने सन्दर्भमा कुरा भएको हो।”
प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १:२५ बजे प्रस्थान गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भारत प्रस्थान गर्नुपूर्व प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुने छ।





