भरतपुर, जेठ १९
एनिमल नेपालले हिजो बिहीबार भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया गरेको छ। कुखुरापालन व्यवसायमा कल्याणको दृष्टिकोणले देखिएका समस्या, कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे उक्त अन्तक्र्रियामा छलफल भएको थियो।
माछा, मासु व्यवसायमा व्यवसायीले कल्याणका दृष्टिकोणबाट पालना गर्नुपर्ने विषयले पनि कार्यक्रममा प्राथमिकता पाएको थियो। एनिमल नेपालकी चितवन संयोजक एवम् एड्भोकेसी कोअर्डिनेटर सुमेधा गौतमका अनुसार पशुपन्छी कल्याणको सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी संघसस्थाको भूमिका र उनीहरूले गर्नुपर्ने कामको विषयले पनि प्राथमिकता पाएको थियो।
उहाँका अनुसार यो संस्थाले चितवनमा विगत चार वर्षदेखि काम गर्दै आइरहेको छ। उहाँले चितवनको पोल्ट्री व्यवसायको वर्तमान अवस्था र पशुपन्छी कल्याणमा देखिएका समस्याका विषयमा प्रस्ट पानुभएको थियो ।
एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले एनिमल नेपाल तथा पशुपन्छी कल्याणको विषयमा प्रस्ट पानुभएको थियो ।
पशुपन्छी कल्याण मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले सबै मिलेर काम गर्नुपर्ने विषयमा पनि छलफल भएको कार्यक्रममा जिल्ला भेटेरिनरी कार्यालय, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, समाजकल्याण परिषद्, विभिन्न पालिकाका पशु शाखा प्रमुख, राष्ट्रिय पन्छी रोग तथा अन्वेषण प्रयोगशाला, ट्राफिक प्रहरीलगायतका निकायको उपस्थिति थियो।
सन् २००९ मा प्रमदा शाहको अध्यक्षतामा स्थापना भएको एनिमल नेपालले चितवन जिल्लामा विगत चार वर्षदेखि ब्रोइलर कुखुरा, लेयर्श कुखुरा, राँगा, भैसीलगायतको कल्याणका लागि काम गरिरहेको छ। त्यसका साथै सामुदायिक कुकुर, भारबाहक जनावरहरू गधा, खच्चर, घोडाका लागि काठमाडौं, ललितपुर, धादिङ, गोरखा, बारा, चितवन, रूपन्देही, बाँके, कैलाली, कास्कीलगायतका जिल्लामा प्रत्यक्षरूपमा काम गर्दै आएको जनाईएको छ ।





