भरतपुर, जेठ १९
आज (शुक्रबार) भरतपुरमा एनिमल नेपालले पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पशु कल्याणको लागि एनिमल नेपालको सार्थ अभियान अन्त्रगत कुखुरापालन व्यवसायमा देखिएका समस्या, कुखुरा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्याको बारे उक्त अन्तरक्रियामा छलफल भएको हो ।
चितवनमा विगत चार वर्षदेखि यो संस्थाले काम गर्दै आइरहेको छ। कार्यक्रममा एनिमल नेपालकी चितवन संयोजक एवम् एड्भोकेसी कोअर्डिनेटर सुमेधा गौतमले चितवनको पोल्ट्री व्यवसायको वर्तमान अवस्था र पशुपन्छी कल्याणमा देखिएका समस्याका विषयमा प्रस्ट पार्नुभएको थियो ।
मानिसहरुले जसरी पशुपन्छीले पनि बाचुन्जेल स्वतन्त्र रुपमा बाँच्न पाउनु पर्ने उहाँको भनाइ थियो ।पशुपन्छीलाई मार्नकै लागि एक ठाउबाट अर्को ठाउमा लैजादा पनि तड्पाई तड्पाई लैजाने जस्ता कृयाकलाप गर्न नहुने बताउनुभयो । व्यबस्थित तरिकाले पशुपन्छी कल्याणको सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी संघसस्थाले पनि काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले एनिमल नेपाल तथा पशुपन्छी कल्याणको विषयमा प्रस्ट पार्नुभएको थियो । उहाँले जनवरको ढुवानी गर्दा नाक, मुख, पुच्छार बाध्न नहुने बताउनुभयो । त्यस्तै उहाँले ढुवानी मापदण्डले तोके बमोजिम जनावरहरुलाई प्र्याप्त मात्रामा खुल्ला र सहज स्थानको व्यबस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
एनिमल नेपालले चितवन जिल्लामा विगत चार वर्षदेखि ब्रोइलर कुखुरा, लेयर्श कुखुरा, राँगा, भैसीलगायतको कल्याणका लागि काम गरिरहेको छ। त्यसका साथै सामुदायिक कुकुर, भारबाहक जनावरहरू गधा, खच्चर, घोडाका लागि काठमाडौं, ललितपुर, धादिङ, गोरखा, बारा, चितवन, रूपन्देही, बाँके, कैलाली, कास्कीलगायतका जिल्लामा प्रत्यक्षरूपमा काम गर्दै आएको जनाईएको छ ।





