काठमाडौं, जेठ २३
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को सम्मेलनमा भाग लिन सिङ्गापुर प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा आगामी जेठ २४ देखि २६ गतेसम्म सिङ्गापुरमा हुन लागेको राष्ट्रिय केन्द्रीय ब्यूरोका प्रमुखहरूको सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेड अफ एनसिबी सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराध नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रका प्रमुख तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवं सहकार्यको विषयहरूमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्मेलनमा इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आ–आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन् । सम्मेलनमा एनसिबी काठमाडौँ शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत सहभागी हुनुहुने भएको छ ।





