काभ्रे, जेठ २६
काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका एक हजार २४० विद्यार्थी दीक्षित हुने भएका छन्। विश्वविद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार २८औँ दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन विलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताउनुभयो ।
दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीसमेतको सहभागिता रहने छ। यो पटकको समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्टस्, एजुकेसन, इञ्जीनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी नौ जना, एमफिल ४१, स्नातकोत्तर तहका ९८ र स्नातक तहका एक हजार ९२ सहित एक हजार २४० विद्यार्थी दीक्षित हुने जनाएको छ।
जसमध्ये आर्टस्का ३५, एजुकेसनका ५७, इञ्जीनियरिङका तीन सय ६५, ल का एक, म्यानेजमेन्टका ५०, मेडिकल साइन्सेजका पाँच सय ६५ र साइन्सका १६७ जना रहने छन् ।
दीक्षित हुने विद्यार्थीमध्ये छात्रभन्दा छात्राको सङ्ख्या बढी रहने छ । पुरुषको प्रतिशत ४९३५ (६१२) र महिलाको प्रतिशत ५०.६५ (६२८) जना रहने छ । दीक्षित हुनेमध्ये भारत, श्रीलंका र संयुक्त राज्य अमेरिकालगायतका ७३ जना (५.८९ प्रतिशत) छन् ।





