चितवन, जेठ २७
कुनैरोगको उपचार तथा निदानका लागि एन्टिबायोटिकको दुरूपयोगले मानिस, वातावरण र जनावरको स्वास्थ्यमा गम्भीर खतरा बढ्दै गएको छ । विज्ञहरुले गरेको अध्ययन अनुसन्धान अनुसार एन्टिबायोटिक अनुचित र नियमित प्रयोगले मानिसलाई मृत्युको मुखमा पुर्याउने गरेको छ । भरतपुरमा हिजो शुक्रबार स्वास्थ्य मन्त्रालयको आयोजना तथा युएसएआईडीको आर्थिक सहयोगमा एन्टि माईक्रोवियल रेसिस्टेण्ट बिषयक कार्यशालामा विज्ञ तथा जानकारहरुले एन्टिबायोटिकले मानव स्वास्थ्य गम्भिर समस्या थपिएको बताउनुभएको हो ।
युएसएआईडीका फोकल पर्सन डाक्टर सन्तोष दुलालले एन्टिबायोटिक को प्रयोग कोभिडभन्दा बढी महामारीको रुपमा फैलिएको बताउनुभयो । प्रस्तुतीकरण दिदै डा दुुलालले यो महामारी विश्वका विकासोन्मुख र गरीब देशमा बढी भएको उहाँको भनाई छ । २०२२ मा गरिएको एक अध्ययन अनुसार विश्वमा एन्टिबायोटिकको प्रयोगले ५० देखि ७० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये एशियाली देशहरुमा मात्रै एकबर्षमा ४७ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । यसको प्रयोगलाई रोक्न नसके सन् २०५० सम्ममा एन्टिबायोटिकको प्रयोग बर्षेनी १ करोड मानिसको मृत्यु हुने प्रक्षेपण गरिएको अनुसन्धानले देखाएको छ ।
अधिकांश चिकित्सकले रोग चांँडै निको बनाउने र बिरामीलाई सहज बनाउने हेतुले अनुचित रुपमा एन्टिबायोटिकको प्रयोग गर्दा मानव शरीररले पछि बिरामी पर्दा उक्त एन्टिबायोटिकको मात्राले काम नगर्ने र मात्रा बढाउंँदै लैजादा बिरामी थप गम्भिर बन्दै जाने र मृत्यु हुने गरेको छ ।
मानिसमा लाग्ने ७५ प्रतिशत रोग पशुपंक्षीबाट सर्ने भएकोले र जनावरको मासु मानिसले प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरेको गुणस्तर महाशाखाका प्राविधिक राजकुमार पाण्डेले बताउनुभयो ।
‘पशुपंक्षीमा समेत एन्टिबायोटिकको प्रयोग अत्यधिक छ, यसको मासु खांँदा एकातिर रोगको जोखिम त छदैछ अर्को कुरा एन्टिबायोटिकले काम समेत नगर्ने भएको छ ।’ उहाँले भन्नुभयो । अनुसन्धान अनुसार एन्टिबायोटिकको प्रयोगले २०३० सम्ममा विश्वमा २ करोड ४० लाख मानिस गरिबीको रेखामुनी धकेलिने छ । विश्वमा सय खर्ब अमेरिकी डलरको भार पर्ने र ३ दशमलब ८ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा ह्रास आउने अनुसन्धानले देखाएको छ ।
प्रस्तुति दिंँदै डाक्टर विवेका श्रेष्ठले पछिल्लो समय गर्भवती महिलालाई इन्जेक्सनको माध्यमबाट सबैभन्दा बढी एन्टिबायोटिक दिइने गरेको बताउनुभयो । उहाँले जनावरको मासुमा भन्दा बढी दूधको प्रयोगले मानिसमा रोग सर्ने समस्या आएको बताउनु भयो । यसको रोकथामको लागि खाद्य र मासुको प्रयोगको लागि एन्टिबायोटिक विरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
युएसएआईडका सहजकर्ता अर्जुन अधिकारीले रोगबाट मर्नेभन्दा एन्टिबायोटिकको अनुचित प्रयोगले मर्नेको संख्या भयावह हुंँदै गएको बताउनुभयो । विश्वमा सन् १९८७ बाट नयांँ एन्टिबायोटिकको आविस्कार कम हुंँदै गएपनि यसको प्रयोग अत्यधिक भएको कारण मानिसको मृत्युमा भने कमी नआएको उहाँको भनाई थियो । ‘नेपालमा यसको अनुचित प्रयोग कतिहुन्छ भन्ने तथ्यांक त छैन । अधिकारीले भन्नुभयो, विश्वमा ५० प्रतिशत एन्टिबायोटिक जथाभावी प्रयोग हुंँदै आएको छ ।’
जलवायु परिवर्तन, सूक्ष्म जीवाणुहरुको छिटो–छिटो परिवर्तन, परिमार्जित जीवाणुहरुद्वारा नयाँ महामारीहरु देखिनु, रोगहरु वृद्धि हुँदै जानु, गुणस्तरीय उपचार नपाउनु, खाद्य पदार्थ र पशु उत्पादनमा एन्टिबायोटिक वा पेस्टिसाइडको जथाभावी प्रयोग, अस्पतालको फोहोर र प्रदूषकहरुले अनुचित खोलानालामा डम्पिङ गर्नुले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढाएको बताउनुभयो ।
यसको रोकथामको लागि सरकारको नीति, कानुन कार्यन्वयन पक्ष बलियो बनाउनु पर्ने सुझाब दिंँदै जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । यसको न्यूनिकरण र जनचेतनाका लागि मन्त्रालयले देशका मुख्य शहरहरुमा यो कार्यशाला जारी राख्दै आएको हो ।
विकसित देशले प्रतिरोधी जीवाणुविरूद्धका नयाँ एन्टिबायोटिक उत्पादन गर्ने क्षमता राख्छन्, तर विकासोन्मुख देशको यस्तो क्षमता नभएको जनाईएको छ ।






