भरतपुर, जेठ २८
भरतपुर महानगरपालिकाले आगामी चार वर्षभित्र बालमैत्री महानगर बनाउने भन्दै २३ बुँदे घोषणापत्र जारी गरेको छ । भरतपुर महानगरपालिका र युथ क्लब नारायणगढको संयुक्त आयोजनामा हिजो शनिबार भरतपुरमा भएको बृहत् बालभेलामा बालमैत्री नगर बनाउने सूचकसहित घोषणापत्र जारी गरेको हो । बालअधिकारका विषयमा विभिन्न २३ वटा बुँदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ । हरेक वडामा बाल सञ्जाल गठन गर्ने, वडाको बजेट निर्माणमा बालबालिकालाई सहभागी गराउने, बालबालिकाको विकासमा महानगरले बजेट विनियोजन गर्ने, बालअधिकारको सन्दर्भमा उल्लेख भएका सूचकहरु पूरा गर्नेगरी घोषणापत्र जारी गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आउँदो २०८३/०८४ मा सबै वडालाई बालमैत्री बनाउने गरी कार्यक्रम सम्पन्न गर्ने बताउनु भएको छ । ‘हामीले अन्य क्षेत्रमा जसरी काम गरेका छौँ त्यसैगरी बालअधिकार र उनीहरुको क्षेत्रमा पनि प्राथमिकताका आधारमा काम गर्नेछौँ’, दाहालले भन्नुभयो। हरेक विद्यालयमा खेलमैदान निर्माण गर्न लगाउने, उनीहरुको क्षमता वृद्धि गर्नको लागि अवसर प्रदान गर्ने, बालमैत्री विद्यालय, शौचालय निर्माण गराउनेलगायतका कामहरु भएको उहाँले जानकारी दिर्नुभयो ।
कार्यक्रममा महानगर उपप्रमुख चित्रसेन अधिकारीले अबको एकवर्षभित्र चारवटा वडा बालमैत्री घोषणा गरिने जानकारी दिर्नुभयो । बालमैत्री हुनका लागि सूचकहरु पूरा भएका वडालाई घोषणा गर्ने तयारी भएको उहाँले बताउनुभयो । स्थानीय सरकारसँग बालबालिकाले आफ्नो अधिकार राख्न पाउने वातावरण निर्माण गर्दै लैजाने उहाँको भनाइ थियो ।
कार्यक्रममा नगर बालसञ्जालका अध्यक्ष आदर्श तिवारीले स्थानीय पालिकाले कम्तीमा पनि बालबालिकासँग वर्षको एकपटक बसेर उनीहरुको मागका विषयमा सुनुवाइ हुनुपर्ने बताउनुभयो । बालअधिकारको विषयमा कति गम्भीर भएका छौँ भन्ने विषय बालबालिकाको मुखबाट सुनेपछि मात्र सत्य हुने उहाँले बताउनुभयो । उहाँले घोषणापत्रमा उल्लेख भएका बुँदासँगै बाल न्यायालय सञ्चालन गर्नुपर्ने, अनलाइन सुरक्षा प्रदान गर्नुपर्ने लगायतका बुँदाहरुको विषयमा महानगरपालिका गम्भीर हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बालसञ्जालका प्रतिनिधि कृपा दाहालले समाजिक सञ्जालबाट बालबालिकाको अधिकार हनन् भएको बताउनुभयो । आफ्नै अभिभावकबाट सामाजिक सञ्जालमा छोराछोरीलाई प्रयोग गरेर पैसा कमाउन लगाउनेजस्ता काम भएकाले त्यसलाई रोक्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले बालमैत्री महानगर बनाउन सरकारी निकायबाट मात्र नभई सामाजिक संघसस्थाको पनि भूमिका रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बालपरिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले आफ्नो अधिकारका लागि बालबालिका आफैँले बोल्नुपर्ने बताउनुभयो ।
युथ क्लब नारायणगढका अध्यक्ष शालिग्राम नेपालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय बालपरिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेल, क्लबका उपाध्यक्ष दयाराम कँडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । कार्यक्रम सञ्चालन महासचिव रामचन्द्र आचार्यले गर्नु भएको थियो ।
घोषणापत्रमा महानगरप्रमुख, उपप्रमुख, स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख, बालसञ्जालका अध्यक्षले हस्ताक्षर गर्नुभएको थियो ।





