६ असार २०८०, बुधबार १०:१९
काठमाडौं, असार ६
चौधौं संस्करणको दक्षिण एशियाली फुटबल (साफ) च्याम्पियनशीप आजदेखि भारतको बेंगलुरुमा सुरु हुँदैछ ।
उद्घाटन खेलमा नेपालले आज आमन्त्रित राष्ट्रको रुपमा सहभागी भएको आफूभन्दा निकै बलियो टोली कुवेतसँग सामना गर्दैछ । आजको खेल दिउँसो ३.४५ बजेबाट बेंगलुरुस्थित कान्टेराभा स्टेडियममा खेलिंदैछ ।
नेपालले हालसम्म कुवेतसँग नौवटा खेलहरु खेलेको छ । जसमध्ये आठ खेलमा हार व्यहोर्दै एक खेलमा भने गोलरहित बराबरीमा रोक्न सफल भएको छ । नेपाललाई समूह चरण पार गर्ने यात्रा निकै कठिन छ ।
नेपाल रहेको समूह ए मा साविक विजेता भारतसँगै फिफा निलम्बनबाट भर्खर फर्किएको पाकिस्तान र कुवेत रहेका छन् । समूह बीमा भने बंगलादेश, भुटान, मल्दिभ्स र आमन्त्रित लेबनान रहेका छन् ।
नेपालले आज चार दशकपछि फेरी एकपटक भारतीय भूमिमा कुवेतसँग सामना गर्न लागेको हो ।





