८ असार २०८०, शुक्रबार १६:५०
काठमाडौं, असार ८
सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देबेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ ।
सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालय कर्मचारी र शिक्षकहरुसँग विगतमा गरिएका सहमतीहरुको कार्यान्वयनमा सरकारले ढिलाई गर्न नहुने उहाँको तर्क थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले सरकारले दुई पटक आफैंले गरेको प्रतिवद्धता अनुसार विद्यालय कर्मचारीको समस्या समाधान नगरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
विद्यालयका कर्मचारीहरुले लेखापाल र कार्यालयका सहयोगीको सेवा सुविधा खरदार सरह पुर्याउन माग गर्दै आईरहेका छन् । सांसद पौडेलले उनीहरुको सो माग सम्बोधन गर्न सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।





