काठमाडाैं, साउन १९
सत्तारुढ नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि ठाेस कदम चाल्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
डेंगु राेगलाई तत्काल नियन्त्रणमा लिई दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न कांग्रेसले बिहीबार विज्ञप्तिमार्फ सरकारको ध्यानाकर्षण गराएको हाे ।
डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भूभाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान गइसकेकाे र साे रोगको संक्रमणका कारण सयौंको संख्यामा नागरिक सिकिस्त बिरामी परेका विज्ञप्तिमा उल्लेख छ । ‘रोग फैलिने क्रम रोकिएको छैन, समाजमा यसको त्रास फैलिएको छ, अतः सो सम्बन्धमा विरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ’- विज्ञप्तिमा लेखिएकाे छ ।





