चितवन, साउन ३०
उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई चितवन मिड टाउन रिसोर्टले हस्पिटालिटी सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र होटल बीच आज छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रही संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउँदै हस्पिीटालिटी सेवामा सहुलियत उपलब्ध गराउने चितवन मिड टाउन रिसोर्टलाई आभार व्यक्त गनुभएको थियो ।
कार्यक्रमममा चितवन मिड टाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउँदै लैजाने बताउनुभयो । सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराइएको सदस्यता परिचयपत्र देखाउनु पर्ने छ र संघको सदस्यता नविकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । निर्देशक केसीले संघले अन्य व्यवसायिक प्रतिष्ठानहरूमा समेत सदस्यको लागि छुट सेवा उपलब्ध गराउन तयारी भइरहेको बताउनुभयो । रिसोर्टले उपलब्ध गराउने सेवामा संघका सदस्यले २० प्रतिशतसम्म छुट पाउने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताउनुभएको छ ।
सम्झौतापत्रमा संघका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन मिड टाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गनुभएको हो । सम्झौतामा हस्ताक्षर कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष राजेन्द्र ओली कार्यसमिति सदस्य नारायण प्रधान, धनप्रसाद पोखरेल, कार्यकारी निर्देशक निलबहादुर केसी, चितवन मिड टाउन रिसोर्टका प्रबन्धक तेजेन्द्र शर्माको उपस्थिति रहेको थियो ।





