चितवन, साउन ३१
जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो आवमा रु ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ । उहाँका अनुसार अघिल्लो आ व मा दैनिक सरदर तीन लाख पाँच हजार पाँच सय ५३ लिटर दूध उत्पादन भएकोमा गत आवमा दैनिक दुई लाख ६८ हजार आठ सय ८४ लिटर दूध उत्पादन भएको छ ।
उहाँका अनुसार विसं २०७७ बाट सुरु भएको लम्पीस्किन रोगको सङ्क्रमणले विस्तारै दूध उत्पादनमा कमी आएको हो । रोग सङ्क्रमणभएपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उहाँले बताउनुभयो ।
डा आचार्यले भन्नुभयो, “लम्पी स्किनका कारण दूध उत्पादनमा कमी आएको छ । बजारमा दूधको माग पनि घटेको छ ।” दूध उत्पादन बढाउनका लागि जिल्लामा लम्पीस्किनविरुद्धको खोप अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । लम्पी स्किन रोग नियन्त्रणमा आएपछि विस्तारै दूध उत्पादनमा वृद्धिमा उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “जाडो मौसम सुरु भएसँगै रोगको सङ्क्रमण कम हुने र दूध उत्पादनमा वृद्धि हुने अनुमान गरेका छौँ ।’
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दैनिक दूध उत्पादनमा गिरावट आएको बताउनुभयो । उहाँले भन्नुभयो, “रोग लागेपछि दूध उत्पादन घट्ने र गाईभैँसी मर्ने हुँदा दूध उत्पादनमा कमी आएको छ ।”
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालन गरिएको छ । कार्यालयका अनुसार जिल्लामा हालसम्म ११ हजार चार सय ७० पशुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । यो रोगका कारण हालसम्म जिल्लामा दुई सय ९५ गाई मरेका छन् ।
अहिले प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोप अभियानसमेत साताव्यापी रुपमा सञ्चालन गरिरहेको बताउँदै उहाँले सङ्क्रमणमा केही कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
सङ्क्रमण बढ्दै गएका कारण प्रभावित क्षेत्रमा जैविक सुरक्षा अपनाउनुका साथै खोप लगाउने काम भइरहेको डा आचार्यले बताउनुभयो । हालसम्म २० हजार नौ सय १२ डोज खोप पशुमा लगाइएको छ ।





