काठमाडौँ, भाद्र ५
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार आजसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको छ ।
आजसम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा(एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा(माओवादी केन्द्र)का नेता हितराज पाण्डे सदस्य रहने गरी सोमबार बसेको बैठकले कार्यादेश समिति गठन गरेको छ ।
लामो समयदेखिको संसद्को गतिरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलहरूको बैठक आह्वान गर्नुभएको थियो ।
राष्ट्रिय दलहरुको बैठकमा संसद् सञ्चालन गर्नेबारे सकारात्मक छलफल भएको तथा त्यसका लागि सबै विकल्प र सम्भावना खोजिने गरी दलहरुबीच सहमति भएको कांग्रेस नेता लेखकले जानकारी दिनुभयो । उहाँले अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति भएको समेत बताउनुभयो ।





