१८ भाद्र २०८०, सोमबार ०७:२५
काठमाडौँ, भाद्र १८
नेपालले आज एसिया कप २०२३ को दोस्रो खेलमा भारतसँग खेल्दैछ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।
नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका हुन् ।





